फोटो १: उभिएका बुद्ध |
फोटो २: पादपीठमा रहेको अभिलेख |
फोटो ३: लिच्छवि लिपि, स्रष्टा डा. नयनाथ पौडेल |
भरखरै प्रकाशित लिच्छवि लिपि नामक आफ्नो पुस्तकमा मैले क्लिभल्याण्ड म्युजियममा अवस्थित, उभिएका बुद्धको कांस्यमूर्तिको पादपीठमा रहेको अभिलेखको विषयमा विशद अध्ययन गरी सो अभिलेखको संवतको अङ्क डा.गौतमवज्र वज्राचार्यले ५१३ पढ्नुभएकोमा सो ठीक होइन, यस अभिलेखको संवतको अङ्क ११३ हो भनी निर्णय गरेको छु । [1]
उक्त पुस्तकको तेह्रौं अध्यायको शीर्षक लिच्छवि लिपिमा संख्यालेखनपद्धति रहेको छ । यस अध्यायमा लिच्छवि कालका अभिलेखहरूमा उपलब्ध अङ्कचिह्नहरूको सम्बन्धमा विस्तृत अध्ययन गरी जम्मा अट्ठाईस किसिमका अङ्कचिह्नहरूद्वारा लिच्छविकालको अङ्कलेखन–पद्धति प्रचलनमा रहेको थियो भन्ने कुरा स्पष्ट पारिएको छ । यस पुस्तकको तेह्रौँ अध्यायमा छलफल गरिएका यिनै विषयहरूमध्ये सानो अंशलाई उद्धृत गरेर अहिले यो लेख प्रस्तुत गरिएको छ ।
तालिका नं.१३ः२५
लिच्छवि लिपिमा संवत्लेखन (१००+)
माथिको तालिकामा १०३ बाट शुरू भएका संवतका अङ्कचिह्नका उदाहरणहरू प्रस्तुत गरिएका छन् । यसमा १०० अङ्क लेख्नको लागि पहिले सयको अङ्कचिह्नलाई जनाउने लिच्छविलिपिको अ वर्ण लेखिएको छ र त्यसभन्दा दायाँपट्टि ३ को अङ्कचिह्न लेखी १०३ को अङ्कचिह्न बनाइएको छ । लिच्छवि कालमा यसै गरी १०० को अङ्कचिह्न र ९ को अङ्कचिह्नलाई मिलाएर १०९ को अङ्कचिह्न बनाइन्थ्यो । संवत् ११३ लेख्नको लागि चाहिँ पहिले १०० को अङ्कचिह्नलाई जनाउने लिच्छविलिपिको अ वर्ण लेखी त्यसभन्दा दायाँपट्टि १० को अङ्कचिह्न जनाउने लिच्छवि लिपिको ण्टा वर्ण लेखेर त्यसभन्दा पनि दायाँपट्टि ३ को अङ्क लेखिएका छन् । लिच्छवि लिपिमा यही क्रमले अङ्कचिह्नहरूलाई मिलाएर लेखिन्थ्यो ।
यहाँ संवत् १०३ ज्यैष्ठशुक्लदिवात्रयोदश्याम् भन्ने पदावली नरेन्द्रदेवको वज्रघरको अभिलेख (रे. १२८ः३७) बाट लिइएको होभने संवत् १०९ वैशाखशुक्लदिव... द्वितीया भन्ने पदावली राता मछिन्द्रनाथको मन्दिरनिरको अभिलेख (व.०ः१) बाट लिइएको होे । यिनमा १०३ र १०९ अङ्कचिह्नका उदाहरण छन् ।
प्रस्तुत संवत् ११३ भन्ने पदावली Standing Buddha को मूर्तिको पादपीठमा रहेको अभिलेख (व. ०ः४) बाट लिइएको होे । क्लीभल्याण्ड म्यूजियममा अवस्थित Standing Buddha को मूर्तिको पादपीठमा रहेको यस अभिलेखको संवतको अङ्कलाई गौतमवज्र वज्राचार्यले ५१३ भनी पढ्नुभएको छ [2], परन्तु लिपिको आधारमा हेर्दा संवतको यो अङ्क ११३ देखिन्छ । अब यस विषयमा छलफल गरी उक्त संवतको अङ्कचिह्न १०० को हो कि ५०० को हो भन्ने विषयमा निर्णय गर्नुपर्ने भएको छ । यसका लागि लिच्छवि कालका अभिलेखहरूमा पाइने १०० अङ्कचिह्नको आकृति–विन्यास र ५०० अङ्कचिह्नको आकृति–विन्यासका केही उदाहरणहरूलाई हेर्नुपर्ने हुन्छ । ती आकृति–विन्यासहरू यस प्रकारका छन् —
तालिका नं.१३ः२६
लिच्छवि लिपिमा १०० को अङ्कचिह्न र ५०० को अङ्कचिह्नका आकृतिको विषयमा
माथिको तालिकामा प्रस्तुत मानिकया १५० मा रहेको १०० अङ्कचिह्नको उदाहरण वसन्तदेवको पालाको खपिंछेको अभिलेख (रे.२६ः३) बाट लिइएको होभने संवत् ५१२ मा रहेको ५०० अङ्कचिह्नको उदाहरण शिवदेव+भौमगुप्तको विष्णुपादुकाको फेदीमा रहेको अभिलेख (रे.४९ः१९) बाट लिइएको हो । प्रस्तुत संवत् ११३ मा रहेको १०० अङ्कचिह्नको उदाहरण क्लीभल्याण्ड म्यूजियममा रहेको Standing Buddha को मूर्तिको पादपीठमा रहेको अभिलेख (व.०ः४) बाट लिइएको होभने संवत् ५१६ मा रहेको ५०० अङ्कचिह्नको उदाहरण शिवदेव+अंशुवर्माको पाटन भीमसेनस्थानको अभिलेख (रे.५४ः१५) बाट लिइएको हो । प्रस्तुत संवत् ११८ मा रहेको १०० अङ्कचिह्नको उदाहरण शिवदेव द्वितीयको पालाको नालाको अभिलेख (रे.१३१ः१) बाट लिइएको होभने संवत् ५१६ मा रहेको ५०० अङ्कचिह्नको उदाहरण शिवदेव+ अंशुवर्माको भक्तपुर गोलमढीटोलको अभिलेख (रे.५५ः१५) बाट लिइएको हो ।
प्रस्तुत संवत् १४८ मा रहेको १०० अङ्कचिह्नको उदाहरण मीननाथको अभिलेख (रे.१४०ः१८) बाट लिइएको होभने संवत् ५२० मा रहेको ५०० अङ्कचिह्नको उदाहरण शिवदेव+अंशुवर्माको) धर्मपुरको अभिलेख (रे.६२ः२२) बाट लिइएको हो । प्रस्तुत संवत् १५७ मा रहेको १०० अङ्कचिह्नको उदाहरण जयदेव द्वितीयको पशुपतिको अभिलेख (नो.८१ः३५) बाट लिइएको होभने संवत् ५२० मा रहेको ५०० अङ्कचिह्न को उदाहरण शिवदेव+अंशुवर्माको खोपासीको अभिलेख (रे.६३ः१८) बाट लिइएको हो ।
यसरी माथिको तालिकामा लिच्छवि कालका विभिन्न अभिलेखहरूमा उत्कीर्ण १०० को अङ्कचिह्न र ५०० को अङ्कचिह्नका आकृतिका उदाहरणहरू प्रस्तुत गरिएका छन् । यी उदाहरणहरूबाट के स्पष्ट हुन्छभने अ वर्ण एक्लै भएमा त्यसको मान १०० अङ्क हुन्छ । अ वर्णमा ५ को अङ्कचिह्न जोडेपछि त्यसको मान ५०० अङ्क हुन्छ ।
यसलाई एरो दिएर यसरी अझ स्पष्ट पार्न सकिन्छ —
माथि देखाइएको प्रतिच्छविमा जयदेव द्वितीयको पशुपतिको अभिलेख (नो.८१ः३५) मा संवत् १५७ लेख्दा अ वर्णको जुन मुख्य दण्ड छ, त्यसको बीचबाट दायाँपट्टि कुनै रेखा तानिएको देखिँदैन । शिवदेव+अंशुवर्माको खोपासीको अभिलेख (रे.६३ः१८) मा संवत् ५२० लेख्दा अ वर्णको जुन मुख्य दण्ड छ, त्यसको बीचबाट दायाँपट्टि ५ को अङ्कचिह्न जोडिँदा देखिने रेखाको स्वरूपको सानो रेखा तानेर तल अलिकति झुकाइएको देखिन्छ । यसैले माथि देखाइएका दुई अङ्कका प्रतिच्छविहरूबाट १०० को अङ्क र ५०० को अङ्क चिन्न सजिलैसँग सकिन्छ ।
अब क्लीभल्याण्ड म्यूजियममा अवस्थित Standing Buddha को मूर्तिको पादपीठको अभिलेख (व. ०ः४) मा रहेको संवतको अङ्कचिह्नलाई हेरौं —
यसैले माथि देखाइएको प्रतिच्छविमा क्लीभल्याण्ड म्यूजियममा रहेको Standing Buddha को मूर्तिको पादपीठमा रहेको अभिलेख (व.०ः४) मा संवत् लेख्नको लागि अ वर्ण लेख्दा त्यसको मध्यविन्दुबाट बायाँपट्टिको चिह्नमा जोडिनको लागि कुनै पनि रेखा तानिएको देखिंदैन, सो ठाउँ खुलै छाडिएको छ भन्ने कुरा स्पष्टैसँग देखिन्छ । यसैले यहाँ १०० को अङ्कचिह्नमा ५ को अङ्कलाई जनाउने अङ्कचिह्न जोडिएको अवस्था नदेखिँदा यो अ वर्ण मात्र हो र यसको मान १०० को अङ्क हो भन्ने कुरा स्पष्टसँग भन्न सकिन्छ ।
अब लिपिविकासको दृष्टिकोणबाट पनि (Paleographic point of view बाट) पनि विचार गरौं – लिपिविशेषज्ञ शङ्करमान राजवंशीले आफ्नो पुस्तक लिच्छवि लिपिसंग्रहमा “३ को अङ्क लिच्छविकालको लिपिमा छड्के तीन धर्का हुन्छन्, पछिल्लो कालमा गएर अहिलेको देवनागरी अक्षरको ३ अङ्क जस्तै भएको पनि पाइन्छ ।” [3] भनी लेख्नुभएको छ । लिच्छविकालका अभिलेखहरूलाई हेर्दा यो भनाइ ठीकै देखिन्छ । उदाहरणको लागि हेरौं –:
हाँडिगाउँको अंशुवर्माको अभिलेख (रे.७४ः१३) मा देवस्य पु ३ लेख्दा ३ को अङ्कचिह्नको लागि छड्के तीन धर्का दिइएको छ । क्लीभल्याण्ड म्यूजियममा रहेको Standing Buddha को मूर्तिको पादपीठमा रहेको अभिलेख (व.०ः४) मा संवत् ११३ लेख्दा ३ को अङ्क लेख्दा अहिलेको देवनागरी अक्षरको ३ अङ्क जस्तै भइसकेको पाइन्छ । यताबाट पनि यो अभिलेख अलि पछिल्लो कालको हो भन्ने कुरामा बल मिल्छ ।
यसैले माथिका उदाहरण एवं छलफलबाट Standing Buddha (Cleveland) को पादपीठको अभिलेखमा रहेको संवतको अङ्कचिह्न अ अक्षर मात्र भएको, त्यसमा ५ को अङ्कचिह्न जोडिएको नदेखिएको हुनाले र लिपिको दृष्टिकोणबाट पनि अलि पछिको देखिएकोले गौतमवज्र वज्राचार्यले यस अभिलेखको संवतको अङ्क ५१३ भनी पढ्नुभएकोमा त्यो ठीक होइन, यसको शुद्ध पाठ संवत् ११३ हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
ग्रन्थसूची सन्दर्भहरू
निम्न सन्दर्भहरू तालिका र चित्र शीर्षकहरूमा प्रयोग गरिन्छ। रे. र नो. सन्दर्भहरूले अभिलेख नम्बर र पंक्ति लाई बुझाउँछ (उदाहरण; रे. १२८:३७ = अभिलेख १२८, पंक्ति ३७)
व. 0:१ = धनवज्र वज्राचार्य, “लिच्छविकालका अभिलेखमा देखा परेका संवतका अङ्कको निर्णय” पूर्णिमा पूर्णाङ्क १९, २०२५, पृ.१८६
व. 0:४ = Vajracharya, Gautamavajra, 1975, reading and translation of the inscription on the base of the Cleveland Buddha, p. 93 in Appendix in Slusser, Mary Shepherd, 1975, “On the Antiquity of Nepalese Metalcraft”, Archives of Asian Art, XXIX, (1975-76) pp 80-95
रे. = Regmi, D. R. 1983. (Regmi, रे.) Inscriptions of Ancient Nepal. New Delhi: Abhinav. Vol. I pp xxiiii +190; II, pp. xxiii + 131; III, pp. XV + 280,
नो. = Gnoli, Raniero, 1956, (Gnoli, नो. ) Nepalese Inscriptions in Gupta Characters. Serie Orientale Roma, 10 Materials for the Study of Nepalese History and Culture, no. 2, 2 parts. Rome: Istituto Italiano per il Medio ed Estremo Oriente.
उपयोगी प्रकाशनहरूको पूर्ण ग्रन्थसूचीको लागि कृपया अंग्रेजी संस्करण हेर्नुहोस्
1. नयनाथ पौडेलको, लिच्छवि लिपि: काठमाडौ: प्रमिला पौडेल, २०७८ चैत्र २७, रामनवमी: अध्याय १३ बाट, पृष्ठ ५६८-५७३
2. (MS 194) Mary Shepherd Slusser and Gautamavajra Vajracharya, “on the Antiquity of Nepalese Metalcraft” Archives of Asian Art vol 29, 1975-76, p. 80-95.
3. शङ्करमान राजवंशी, लिच्छवि लिपि–संग्रह, काठमाडौं : वीर पुस्तकालय, २०२१, पृ.ध