क्लिभल्याण्ड म्युजियममा अवस्थित, उभिएका बुद्धको कांस्यमूर्ति

  • click on the image to enlarge | click on the image again to enlarge further
    click Esc or X to close and return to this page

फोटो ३: लिच्छवि लिपि, स्रष्टा डा. नयनाथ पौडेल
प्रमिला पौडेल प्रकाशित, काठमाडौं, २०७८ चैत्र २७, रामनवमी
७०४ पृष्ठ (६८८ + १६)
मूल्य: १२००

केही महीना अघि काठमाडौँमा लिच्छवि लिपि नामक पुस्तकको लोकार्पण गरिएको थियो । जम्मा पृष्ठसंख्या ७०४ (६८८+१६=७०४) भएको यस पुस्तकका स्रष्टा डा. नयनाथ पौडेल हुन् भने यस कृतिका प्रकाशक चाहिँ प्रमिला पौडेल हुन् । यस ग्रन्थमा प्रस्तुत गरिएका लिच्छवि लिपिका स्वरवर्ण, व्यञ्जनवर्ण, संयुक्त वर्ण, विविध किसिमका मात्रा चिह्नहरू तथा लिच्छवि अभिलेखहरूमा प्रयोग भइआएका थरी–थरीका चिह्नहरूसमेतको उदाहरण लिच्छवि कालका मूल अभिलेखहरूबाट नै लिइएका छन् । यस पुस्तकको विशेषता नै मूल सामग्रीमा पुगेर प्रामाणिक ढङ्गले लिच्छवि लिपिको विषयमा विश्लेषण गर्नु हो ।

संक्षिप्त रूपमा भन्नुपर्दा यस ग्रन्थको पहिलो अध्यायमा लेखनकलाको उत्पत्ति र विकास शीर्षकमा भ्रूण लिपि, चित्रात्मक लिपि, सूत्रात्मक लिपि, सांकेतिक लिपि, ध्वन्यात्मक लिपिलगायतका लेखनहरूको विषयमा परिचय दिइएको छभने दोस्रो अध्यायमा लेखन–कलाको प्राचीनता शीर्षकमा विभिन्न स्रोतहरूको आधारमा नेपाललगायत भारतवर्षमा प्राचीन कालदेखि नै लेखन–कलाको विकास भइआएको कुरामा छलफल गरिएको छ । तेस्रो अध्यायमा ब्राह्मी लिपिको उत्पत्ति र विकास शीर्षकमा लिच्छवि, गुप्त, कुटिला, नागरी, शारदा एवं बङ्गालीलगायतका धेरै लिपिहरूको जननीको रूपमा रहेको ब्राह्मी लिपिको उत्पत्ति र विकास तथा नेपालमा रहेका ब्राह्मी लिपिमा लेखिएका अभिलेखहरूको विषयमा उदाहरणसहित विवेचना गरिएको छभने चौथो अध्यायमा लिच्छवि लिपिको वर्णमाला शीर्षकमा लिच्छवि लिपिको स्वर वर्ण, व्यञ्जन वर्ण एवं संयुक्त वर्णहरूको आकृति–विन्यासको बारेमा अभिलेखहरूबाट उदाहरण हरूसहित प्रस्तुत गरिएको छ ।

यसैगरी पाँचौँ अध्यायमा लिच्छवि लिपिको वर्णमा आकारको मात्राचिह्न शीर्षकमा लिच्छवि लिपिको स्वर वर्ण, व्यञ्जन वर्ण एवं संयुक्त वर्णहरूमा लगाइएका आकारको मात्राचिह्न ९ किसिमका देखिएका छन् भनी फरक फरक आकृति–विन्यासको बारेमा उदाहरणसहित प्रस्तुत गरिएको छभने छैटौँ अध्यायमा लिच्छवि लिपिको वर्णमा इकार तथा ईकारको मात्राचिह्न शीर्षकमा लिच्छवि लिपिको वर्ण एवं संयुक्त वर्णहरूमा लगाइएका इकार तथा ईकारको मात्राचिह्नको आकृति–विन्यासको बारेमा उदाहरणहरूसहित छलफल गरिएको छ । सातौँ अध्यायमा लिच्छवि लिपिको वर्णमा उकार, ऊकार तथा ऋकारको मात्राचिह्न शीर्षकमा लिच्छवि लिपिको वर्ण एवं संयुक्त वर्णहरूमा लगाइएका उकार तथा ऊकारको मात्राचिह्नको आकृति–विन्यासको बारेमा र लिच्छवि लिपिको ऋकार एवं ऋृकारको मात्रा चिह्नहरूको आकृति–विन्यासकोे विषयमासमेत उदाहरणसहित प्रस्तुत गरिएको छभने आठौँ अध्यायमा लिच्छवि लिपिको वर्णमा एकार तथा ऐकारको मात्राचिह्न शीर्षकमा लिच्छवि लिपिको वर्ण एवं संयुक्त वर्णहरूमा लगाइएका एकार तथा ऐकारका मात्राचिह्नहरूको आकृति–विन्यासको बारेमा उदाहरणसहित छलफल गरिएको छ ।

नवौँ अध्यायमा लिच्छवि लिपिको वर्णमा ओकार तथा औकारको मात्राचिह्न शीर्षकमा लिच्छवि लिपिको वर्ण एवं संयुक्त वर्णहरूमा लगाइएका ओकार तथा औकारको मात्राचिह्नको आकृति–विन्यासको बारेमा उदाहरणसहितको विवेचना प्रस्तुत गरिएको छभने दशौँ अध्यायमा लिच्छवि लिपिमा उत्कीर्ण सर्वप्राचीन अभिलेख शीर्षकमा नेपाल उपत्यकामा हालसम्म पाइएका लिच्छविकालका अभिलेखहरूमध्ये सर्वप्राचीन अभिलेखको रूपमा रहेको जयवर्माको अभिलेखको संवत्को विषयमासमेत छलफल गरी निर्णय प्रस्तुत गरिएको छ । एघाह्रौँ अध्यायमा लिच्छवि लिपिको विकासक्रम शीर्षकमा लिच्छविकालका अभिलेखहरूमा देखिएका वर्ण एवं शब्दहरूको विषयमा पहिलो चरणबाट दोस्रो चरणमा, दोस्रो चरणबाट तेस्रो चरणमा तथा तेस्रो चरणबाट चौथो चरणमा विकसित हुँदै गएको अवस्थालाई देखाउने प्रयास गरिएको छभने बाह्रौँ अध्यायमा लिच्छविकालका संवत् शीर्षकमा लिच्छविकालमा दुईथरी संवत् प्रचलनमा रहेकोमा पहिलो संवत् शक संवत् हो र दोस्रो संवत् अंशुवर्माले चलाएको, पछि मानदेव संवत्का नामले प्रसिद्ध संवत् हो भन्ने विषयमा छलफल गरी स्पष्ट पारिएको छ ।

तेह्रौँ अध्यायमा लिच्छवि लिपिमा संख्यालेखन–पद्धति शीर्षकमा एकदेखि नौसम्मका नौ ओटा अङ्क; दश, बीस, तीस, चालीस, पचास, साठी, सत्तरी, असी र नब्बे जनाउने नौ ओटा अङ्क; एक सय, दुई सय, तीन सय, चार सय, पाँच सय, छ सय, सात सय, आठ सय र नौ सयका नौ ओटा अङ्क एवं एक हजारको एक अङ्क समेत जम्मा अठ्ठाईस किसिमका अङ्कचिह्नहरूद्वारा लिच्छविकालमा अङ्कलेखन–पद्धति प्रचलनमा रहेको थियो भन्ने कुराको विवेचना प्रस्तुत गरिएको छभने चौधौँ अध्यायमा लिच्छविकालका अभिलेखमा विविध चि≈नहरू शीर्षकमा लिच्छविकालका अभिलेखहरूमा देखिएका हलन्तचिह्न, अनुस्वारचिह्न, विसर्गचिह्न, काकपदचिह्न, विरामचिह्न, एकदण्डचिह्न, द्विदण्डचिह्न, समाप्तिचिह्न हरूका साथै अभिलेखहरूको शिरोभागमा रहेका कलश, शङ्ख, चक्र, वृष, मृग, पुष्प, रथचक्र लगायतका आकृति एवं चिह्नहरूको विषयमा छलफल गरिएको छ । पन्ध्रौँ अध्यायमा प्राचीन अभिलेख अध्ययन गर्नेे परम्परा शीर्षकमा ब्राह्मी एवं गुप्त लिपिहरू पढ्न भारतीयहरूलाई धेरै समय लागेको थियो; नेपाल स्वतन्त्र राष्ट्रको रूपमा कायम रहिरहन सकेको हुनाले प्राचीन लिपिहरू पढ्न सक्ने ज्ञान यहाँ लोप हुन पाएको थिएन भन्ने विषयमा स्पष्ट पारिएको छभने सोह्रौँ अध्यायमा प्राचीन कालका लेखन–सामग्री शीर्षकमा पाषाणलेख, सुवर्णलेख, ताम्रलेख, विविध धातुलेख, चट्टानलेख, ताडपत्र, भुर्जपत्र, काष्ठलेख, मृत्तिकालेखहरू प्राचीन समयदेखि नै लिपिको अध्ययनको लागि महत्वपूर्ण स्रोतको रूपमा रहिआएका छन् भन्ने विषयमा छलफल प्रस्तुत गरिएको छ ।

यसरी नेपालको पुरालिपिको अध्ययनको निमित्त नेपाली भाषामा लेखिएको यो पुस्तक अद्वितीय दस्ताबेजको रूपमा रहेको छ भन्न सकिन्छ।

यो ग्रन्थ निम्न स्थानहरूबाट उपलब्ध गर्न सकिन्छ:

Vajra Books
Jyatha, Thamel,P.O.Box 21779, Kathmandu, NEPAL.
Tel: 977-1-4220562 (Shop) 4333765 (Res.)
Mobile: 977-9851071473
Fax: 977-1-4246536
e-mail:

Patan Book Shop
Patan Dhoka, Lalitpur
Phone: 977-1-5555256

P. Malla
Mobile: 977-9841190996
Naya Baneshwar, Kathmandu

विवरण: वैकल्पिक दृश्य